रजतपट अंकल अर्थात प्रकाश सुवेधी एक निडर र बरिष्ठ सिने पत्रकार हुन् तर उनलाई कसैले बरिष्ठ पत्रकार भन्न रुचाउदैनन् बरु उनलाई त चिप्ल्याउने अंकलको रुपमा चर्चा गरिदै आएको छ। उनको बोल्ने शैली र उनको कार्यक्रममा राखिएका विभिन्न सेग्मेन्टहरुमा नेपाली मनोरन्जन क्षेत्रका मै हु भन्नेहरु होस वा बौद्धिक एवं शिक्षित भनिने कलाकारहरु हुन उनीहरु चिप्लिरहेकै हुन्छन्। केहिदिन अघि उनले लिएको अन्तर्वातामा निर्माता तथा निर्देशक एवं कलाकार दिपकराज गिरीलाई निर्माता तथा निर्देशक सन्तोष सेनको बारेमा बोल्न लगाउदा दिपकलाई पनि चिप्ल्याउन भ्याएका छन्।
प्रकाश सुवेधी र दिपकराज गिरीबीच सो अन्तरवार्तामा गरिएको कुराकानीले यतिवेला सिनेमा क्षेत्रमा पुनः आगो दन्किएको छ। निर्मता तथा निर्देशक सन्तोष सेनले आज सामाजिक संजालमा झण्डै 25 मिनेटको भिडियो सार्वजनिक गर्दै दिपकराज गिरी र प्रकाश सुवेधीलाई आफुलाई साईबर सेना वा साईबर स्याल प्रमाणित गराउन चुनौति दिएका छन्। उनले त्यति मात्र भनेका छैनन् दिपकराज गिरीले 10 करोड लगानी गरेर 1 अर्ब कमाउदा पनि सिनेमा क्षेत्रलाई केही नगरी व्यक्तिगत स्वार्थ मात्र पुरा गरेको गम्भिर आरोप पनि लगाएका छन्।
सेनमाथी ‘१२ गाउँको पक्षमा लागेर ‘छक्का पञ्जा–५ विरुद्ध ‘साइबर सेना’ प्रयोग गरेको आरोप लागेपछि उनले गिरी र सुवेधीलाई प्रश्न गर्दै भनेका छन् मैले कसरी साइबर सेना वा साइबर स्याल प्रयोग गरेँ ? फोन, म्यासेज वा अरू कुनै तरिकाबाट ? सम्बन्धित ठाउँमा जाऊँ, अहिलेको डिजिटल युगमा सबै थाहा भइहाल्छ भनी आक्रोस समेत पोखेका छन्। उनले गिरी र सुवेधीलाई प्रमाण पुर्याएर मात्रै बोल्न आग्रह समेत गरेका छन्।
सेनले नेपाली सिनेमा उद्योगमा समीर भट्टको क्रेज र उदयलाई लिएर इन्डस्ट्रीले साथ नदिएको बताउदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग समिर भट्टको तुलना गर्दै सेनले भनेका छन्, ‘जसरी महानगरमा बालेनको उदय भएको थियो, त्यस्तै उदय समीर भट्टको हो । पूर्णरुपमा तयार भएर आएको थियो तर इन्डस्ट्रीको एकजनाले पनि उसलाई सपोर्ट गरेन ।
“मैले घरघर गएर दर्शकलाई १२ गाउँ हेर्नू, छक्का पञ्जा नहेर्नू भनेँ? कि कसरी भनेँ ? दर्शकले फरक टेस्ट चाहेका थिए । १२ गाउँ हेर्न आए । ती दर्शक हाम्रा लागि भगवान् हो भनेर धन्यवाद दिने कि आरोप लगाउने हो ?,” उनले थपे, “तपाईंहरूले मलाई होइन, ती दर्शकलाई गाली गर्नु भएको हो, आरोप लगाउनु भएको हो । जसलाई सम्मान गर्नुपर्ने हो, उसैलाई गाली गरिहरनु भएको छ ।”
“प्रकाश दाइले सुनेको र दीपक दाइले देखेको साइबर सेना को हो? त्यसको जरासम्म पुगेर पत्ता लगाऔँ, यसरी दर्शकलाई बारम्बार गाली नगरौँ,” यो दर्शकको अपमान हो, सिनेमा उद्योगका लागि घाटा हो । दर्शक हाम्रो देउता हो, उसलाई साइबर स्याल र साइबर सेना भन्न मिल्दैन ।” उनले दिपकराज गिरीले चाहेर पनि व्यक्तिगत स्वार्थमा लिप्त हुँदा उनीबाट सिनेमा क्षेत्रले सोचे अनुसारको योगदान नपाएको आरोप पनि लगाएका छन्।
गिरीलाई दिमागबाट हैन मनबाट बोल्न आग्रह गर्दै आफुले हरेक चलचित्रकर्मीको चलचित्र चलोस् भनेर चाहने र शुभकामना दिने एक मात्र निर्माता भएको बताएका छनु । ‘छक्का पञ्जा–५’ पनि चलोस् भन्ने चाहना भएको व्यक्ति आफू भएको उनको भनाइ छ । छक्का पन्जा 5 को पोष्टर हालेर प्रचार-प्रसार गर्दा दिपकराज गिरीले रियक्ट नगरेपछि उनले छक्का पन्जा सम्बन्धी पोष्टहरु हटाएको बताएका छन्।
समीरको आगमनलाई लिएर फिल्म उद्योगका कोही पनि खुसी नरहेको उनले बताए । ‘ऊ जसरी इन्डस्ट्रीमा तयार भएर आयो, यसप्रति कोही पनि खुसी छैनन्’ ‘विराज भट्टजस्तो सुपरस्टारले आफ्नो छोरालाई हिडेर डुलेर विश्व केहो बुझ्ने उमेरमा १०-१५ वर्षसम्म ट्रेनिङमा हालेर योद्धा बनाउनु चानचुने कुरा हो ? समीरलाई घुम्न मन थिएन होला र सेनले प्रश्न गरेका छन्?’ उनले उक्त भिडियोमा चलचित्र ‘१२ गाउँ लाई लिएर आफु माथी लागेको आरोपमा कुनै सत्यता नभएको स्पषटोक्ती दिएका छन्।
यता अर्का कलाकार माग्ने बुढा अर्थात केदार घिमिरेले एक अन्तर्वार्तामा छक्का पन्जा 5 का विरुद्धमा साईबर सेनाहरु लागेका छन् भनी अभिव्यति दिँदा उनले माफी नै माग्नु परेको थियो भने चलचित्र 12 गाँउ हेर्नलाई दर्शक उर्लिएको आधारमा भन्ने हो भने दिपकराज गिरी र प्रकाश सुवेधीले भने जस्तो साईबर सेना भने प्रयोग भएको देखिदैन। यसैगरी यसपाली चलचित्रका हस्तीहरुले 12 गाँउलाई लिएर गरेको भविष्यवाणी पनि गलत साबित भएको छ।
समिर भट्टलाई डेब्यु गराउने भनि चर्चा गरिएको चलचित्र बलिदानको निर्माण ढिला हुँदा समिर भट्ट 12 गाँउबाट डेब्यु भएका हुन्। समिर भट्टको डेब्यु भने कुनै स्टारको भन्दा कम रहेन अर्थात उनको डेब्यु नै ब्लकबसटर भएको छ। चलचित्र बलिदानलाई सन्तोष सेन आफैले निर्माण तथा निर्देशन गरेका छन्।
12 गाँउ फिल्म रिलिज अगाडी समिरको बडीलाई लिएर जति चर्चा भएको थियो सोही अनुसारको प्रतिफल पनि समिरले पाउन सफल भएका छन्। सिने जगतका कतिपयले उनलाई पूर्ण प्याकेज भएको र नेपाली सिनेमा उद्योगलाई धान्न सक्ने कलाकारको रुपमा चर्चा गरेका छन्।
12 गाँउको आधाआधी दर्शक त उनलाई हेर्नकै लागि हलमा देखिन्छ। उनको एक्सन, भ्वाइस, नृत्य र सुगठित शरीरलाई दर्शकले निकै रुचाएका छन् । छन्। फिल्म सफल हुनुमा समीरको क्रेज महत्त्वपूर्ण मानिएको छ। फिल्म हेर्ने दर्शकको भिड थाम्न नसकेपछि छक्का पन्जा 5 लाई दिईएको शोजहरु समेत कटौती गरी 12 गाँउलाई प्रदान गरिएको थियो।